काठमाडौं । नेकपा एमालेका सांसद योगेश भट्टराईले पुस १० गतेबाट बनेको नयाँ राजनीतिक कोर्स पाँच वर्षसम्म जाने दाबी गरेका छन्। बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै नेपाली कांग्रेस आफ्नो कोर्स पुरा गर्न नसकेपछि ओलीले नयाँ कोर्स निर्माण गरेको बताएका हुन्।
भट्टराईले संसदमा दिइएका अभिव्यक्तिले विश्वासको मत एकातिर आँखा अर्कैतिर भएको संकेत गरेको बताए । नेपाली कांग्रेसतर्फ लक्षित गर्दै भट्टराईले संसद्मा दिइएका अभिव्यक्तिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको विश्वासको मत एकातिर नजर अर्कैतिर भएको हुन सक्ने बताए ।
भट्टराईले भने,'प्रधानमन्त्रीलाई विश्वासको मत दिँँदै गर्दा संसद्मा गरिएको राजनीतिक टिप्पणीले विश्वासको मत एकातिर आँखा अर्कैतिर त होइन भन्ने प्रश्न उठाएको छ । खैर, त्यस्तो हो भने पनि केही छैन । १० गते १२ बजेसम्म हामीले प्रधानमन्त्री, राष्ट्रपति केही पनि खोजेका थिएनौँ । त्यो बनजाउने ठाउँमा अरू नै हुनुहुन्थ्यो ।'
उनल कांग्रेसले सम्हाल्न नसकेका कारण मात्र एमालेलाई अवसर आएको बताए । कांग्रेसको नजर अर्कौतिर होइन भने सभामुख पदमा देवराज घिमिरेका पक्षमा पनि भोट हाल्नुपर्ने उनको भनाइ छ ।
उनले एमाले र कांग्रेसको इतिहास हेर्दा एमाले दिने र कांग्रेस लिने मात्रै गरेको इतिहास रहेको उनको भनाइ छ। कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएको आभार व्यक्त गरे। उनले प्रधानमन्त्रीलाई जस्तै सभामुखमा देवराज घिमिरेलाई विश्वासको मत दिन आग्रह गरे।