काठमाडौं । वामपन्थी नेता घनश्याम भुसाल नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । शुक्रबार नयाँ बानेश्वरस्थित अर्याल होटलमा आयोजित एक कार्यक्रमका बीच उनी नेकपा एसमा प्रवेश गरेका हुन् ।
पार्टीमा भुसाललाई एसका अध्यक्ष माधवकुमार नेपालले स्वागत गरे । पार्टी प्रवेश गरेपछि सम्बोधन गर्दै भुसालले आफूले १० वर्षमा एक नेतृत्वादायी समाजवादी पार्टी बनाउने घोषणा गरे ।
पार्टी प्रवेशको घोषणा गर्दै भुसालले नेकपा विभाजनका कारण मुलुकले समृद्धि र विकास गर्ने अवसर गुमाउनु परेको बताए । उनले भने, ‘ओली सिद्धान्त, ओलीवाद र ओली संगठनका कारण कम्युनिस्ट आन्दोलन अप्ठेरोमा परेको छ । यस तर्कमा म बहस गर्न जहिल्यै तयार छु । यस्तो अवस्थामा म नेकपा एमालेमा रहन सकिनँ ।’
भुसाल गत मंसिर ४ मा सम्पन्न निर्वाचनमा एमालेबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवार बनेका थिए । उनी एमालेका सचिव समेत रहेका छविलाल विश्वकर्मासँग पराजित भएका थिए ।
भुसालले नेकपा एकीकृत समाजवादीले वाम एकताका लागि गठन गरेको वार्ता समितिसमक्ष ५ बुँदे प्रस्ताव राखेका थिए । भुसालको प्रस्तावलाई एकीकृत समाजवादीले स्वागत गरेपछि उनी पार्टी प्रवेश गरेका हुन् ।