कठमाडौं । नेकपा एमाले त्यागेका घनश्याम भुसाललाई पार्टीमा भित्र्याउन नेकपा एकीकृत समाजवादीले स्वागत पत्र पठाएको छ। भुसालको पत्रमा उल्लेख सवालहरूलाई सम्बोधन गर्दै स्वागत पत्र पठाइएको हो ।
भुसाललाई समाजवादीले बुधबार अपरान्ह पत्र पठाएको हो। भुसाल एक-दुई दिनमै समाजवादीमा जाने तयारी गरेका छन्।
भुसालले समाजवादीमा महासचिव दाबी गरिरहेका छन्। भुसाललाई मूल्यांकन गर्दै पार्टीमा सम्मानजनक जिम्मेवारी दिन सिंगो पार्टी सकरात्मक रहेको समाजवादी स्रोतले बताएको छ ।
भुसाललाई अहिले सचिवालय सदस्यमा ल्याएर केही समयपछि पदाधिकारीको जिम्मेवारी दिने गृहकार्य एकीकृत समाजवादीमा छ।
प्रतिनिधि सभामा पार्टीले टिकट नदिएपछि भुसालले एमाले त्याग गर्दै रूपन्देही-१ बाट स्वतन्त्र उम्मेदवारी दिएका थिए।
कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनको साथ रहँदा पनि निर्वाचनमा पराजय व्यहोरेपछि भुसाल फेरि दलगत राजनीतिमा फर्किन लागेका हुन्।