काठमाडौं । विवादित क्षेत्र अरूणाचल प्रदेशमा भएको चीन–भारत सैन्य झडपबारे चीनले प्रतिक्रिया जनाएको छ । सीमाक्षेत्र तवाङ र याङ्त्सेमा दुवै देशका सैनिकबीच झडप भएको स्वीकार्दै चीनले अहिले त्यस क्षेत्रको स्थिति सामान्य रहेको बताएको हो ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा भारतसँगको झडपपछि सीमाको अहिलेको स्थिति सामान्य र स्थिर रहेको बताए । चीनले अवैध रूपमा भारतीय सीमा पार गर्न खोजेको भारतीय पक्षको आरोपको खण्डन गरेको छ ।
बरु भारतीय सेनाले डिसेम्बर ९ मा चीन–भारत सीमाको पूर्वी खण्डको डोङझाङ क्षेत्रमा चिनियाँ सीमानाको वास्तविक नियन्त्रण रेखाको अवैध रूपमा पार गरेर नियमित गस्तीमा अवरोध पुर्याएको चीनको आरोप छ । चीनको जनमुक्ति सेनाको पश्चिमी थिएटर कमान्डका प्रवक्ता वरिष्ठ कर्णेल लङ शाओहुआले घटनापछि दुवै पक्षबीच सम्पर्कविच्छेद भएको जानकारी दिएका छन् ।
चिनियाँ जनमुक्ति सेना (पीएलए) वास्तविक नियन्त्रण रेखा (एलएसी) पार गरेर भारतीय भूमिमा आएपछि दुवै सेनाबीच झडप हुँदा दुवै पक्षका केही व्यक्तिलाई सामान्य चोट लागेको थियो ।
यसैबीच लोक सभामा बोल्दै रक्षामन्त्री राजनाथ सिंहले अरुणाचल प्रदेशको तवाङ क्षेत्रमा पीएलएबाट अतिक्रमणको प्रयास भएको र त्यसलाई भारतीय सेनाले बहादुरीका साथ विफल बनाएको बताए । साथै उनले यो मुद्दा कुटनीतिक माध्यमबाट चीनसँग उठाइएको जानकारी दिए ।
Leave a Reply