एजेन्सी । भारत र चीनका सैनिकबीच सीमा क्षेत्रमा पुनः झडप भएको छ । यस पटकको झडप पूर्वतर्फको अरुणाचल प्रदेशस्थित सीमा क्षेत्रमा भएको हो ।
झडपमा केही भारतीय सैनिक घाइते भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । भारतीय पत्रिका ट्रिब्युन इन्डियाले भारतीय सेनाको उच्चस्रोतलाई उद्धृत गर्दै समाचार प्रकाशित गरेको छ ।
विवादास्पद सो क्षेत्रमा विगतमा पनि दुवै देशका सैनिक आमने सामने हुँदै आएका थिए । शुक्रबार राति भएको तवाङको याङत्सेमा झडप भएको भारतीय सञ्चारमाध्यम द हिन्दुले जनाएको छ ।
भारतीय पक्षले चिनियाँ सैनिकहरू पनि घाइते भएको दाबी गरेका छन् । अरुणाचल प्रदेशलाई चीनले दक्षिणी तिब्बत भन्ने गरेको छ र त्यसमा आफ्नो सार्वभौमिकता दाबी गर्ने गरेको छ ।
यसअघि २०२० जुन महिनामा पनि दुवै देशका सैनिकहरुबीच पूर्वी लद्दाखको गलवान उपत्यकामा झडप भएको थियो । सो क्रममा २० भारतीय सैनिक र केही चिनियाँ सैनिकको मृत्यु भएको थियो ।