काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले अध्यादेश ल्याउने सरकारको पछिल्लो निर्णयप्रति टिप्पणी गरेका छन् ।
नेता भट्टराईले सामाजिक सञ्जालमा आज बिहान स्टाटस लेख्दै सरकारको यो कदमलाई कास्टिङको संज्ञा दिएका हुन् ।
गठबन्धन सरकारले सत्ताको लागि व्यवस्थामाथि प्रहार गरेको उनको आरोप छ ।
उनले सामाजिक संञ्जालमा लेखेका छन्, ‘रेशमको नाम, अफ्ताबको काम, राजनीतिमा अपराधीकरण, अपराधको राजनीतिकरण, देश भाँडमा जाओस् कि व्यवस्था बदनाम होस् के मतलब गठबन्धन रहुञ्जेल । यो त कास्टिङ मात्र हो । पूरा सिरिज त आउन बाँकी नै छ !’
उनले राजनीतिमा अपराधीकरण र अपराधको राजनीतिकरणमा गठबन्धन रहेसम्म यस्तै भइराख्ने जिकिर गरे।
आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले सीके राउत, नेत्रविक्रम चन्द र रेशम चौधरीलगायतका व्यक्तिहरूले नेतृत्व गरेका राजनीतिक समूहका नेता कार्यकर्तालाई रिहा गर्नका लागि अध्यादेशमार्फत कानून संशोधन गर्ने निर्णय गरेको थियो ।
सरकारको पछिल्लो निर्णयले मुलुकमा अपराधीकरणलाई बढावा दिएको सचिव भट्टराईको आरोप छ ।