काठमाडौं । गठबन्धन दलको सहयोगमा प्रतिनिधि सभामा उम्मेदवार बनाएको १९ सिटमध्ये १० मा सहज विजयी बनेको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) समानुपातिक मतमा भने थ्रेसहोल्ड कटाउन नसक्ने चिन्तामा छ ।
दस स्थानमा विजयी भएको सो पार्टीका नेता तथा कार्यकर्ताको गुनासो भने भिन्नै छ, “गठबन्धनमा रहेका दलले आफ्ना उम्मेदवारलाई आवश्यक परेको जति सहयोग गरेनन् ।”
नेकपा एमालेबाट छुटेर बनेको एकीकृत समाजवादीले प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) सँग सहकार्य गरेर आफूलाई सम्मानजनक रूपमा उभ्याउन सफल भएको छ तर आफ्नो वास्तविक परीक्षा मानिएको समानुपातिक मतमा भने निकै तल छ ।
सो पार्टी समानुपातिकतर्फ प्राप्त मतका आधारमा सातौँ स्थानमा छ । सो पार्टीले अहिलेसम्म एक लाख चार हजार १५१ मत ल्याएको छ ।
गठबन्धनमा रहेका दलका कार्यकर्ता भने मत नै कम भएको पार्टीका उम्मेदवारलाई ठूलो सङ्घर्षले विजयी गराएको र मत निकै कम भएकाले केही स्थानमा पराजित हुनुमा स्वयं उम्मेदवार तथा दलकै भूमिका कमजोर रहेको सुनाउँछन् ।
गठबन्धनबाट साझा उम्मेदवार बनेका नेकपा (एस) का १८ वटा प्रतिनिधि सभाका उम्मेदवारले प्रत्यक्षमा तीन लाख ६९ हजार ४९५ मत पाएका छन् । गोरखापत्र दैनिकबाट