काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको दिन मंसिर ४ गते एनआईसी एशिया बैंकका सबै बैंकिङ काउन्टरहरु बन्द हुने भएका छन् । निर्वाचनमा मताधिकार गर्न पाउने अधिकार सुनिश्चित गर्नका लागि एनआईसी एशिया बैंकले आफ्ना कर्मचारीहरुलाई विदा दिने निर्णय गरेको जनाएको हाे ।
सामाजिक सञ्जाल फेसबुकमा बैंकले आफ्ना ग्राहक तथा सर्वसाधरणहरूका लागि एक सूचना प्रकाशित गरी विदाको जानकारी गराएको हो । बैंकद्वारा जारी सूचनामा भनिएको छ–‘यहि मिति २०७९ मंसिर ४ गते आइतबारका दिन हुन गइरहेको प्रतिनिभिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको दिन २६५ दिने काउण्टरलगायत यस बैंकका सम्पूर्ण शहाखाहरु बन्द रहने जानकारी गराउँदछौं ।’
एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरुलाई ३६५ दिन नै सेवा प्रदान गर्दै आएकोमा निर्वाचनको दिन भने कर्मचारीहरुलाई विदा दिएको हो । सरकारले निर्वाचनको दिन अत्यावश्यक बाहेकका सवारीसधानहरुलाई रोक लगाएको छ । सरकारले निर्वाचनलाई लक्षित गरी विद्यालयहरु ५ दिन र सरकारी कार्यालयहरुमा ३ दिन छुट्टि दिने निर्णय गरेको थियो ।
एनआईसी एशिया मुलुकमा सबैभन्दा धेरै बैंकिङ्ग सञ्जाल विस्तार गरेको बैंक हो । यस बैंकले मुलुकभर ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०३ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ । देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन यस बैंक सफल भएको छ ।
देशको अर्थतन्त्रको सवलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पुर्याउन उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै स्थापना कालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल रू। १९ अर्ब ९२ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरेको र गत आर्थिक वर्षमा रू।३ अर्ब ४१ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाई समग्र वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी कर दाखिला गर्ने बैंकको रुपमा स्थापित हुन बैंक सफल भएको छ । जुन समग्र देशको अन्य कम्पनीहरूको तुलनामा छैठौं ठूलो योगदान रहेको छ ।
वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । देशको कुल जनसंख्याको ८० प्रतिशत भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२ प्रतिशत शाखा कार्यालयहरू स्थापना गरेको छ ।
Leave a Reply