Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

गृह मन्त्रालयले भन्यो - सुरक्षाकर्मीको संयमताले बाजुरामा ठूलो दुर्घटना हुनबाट रोकियो

काठमाडौं । गृहमन्त्रालयले सुरक्षाकर्मीको संयमताले बाजुरामा ठूलो दुर्घटना हुन नपाएको बताएको छ।

गृह सचिव विनोद प्रकाश सिंहले बाजुराको त्रिवेणी नगरपालिका-७ स्थित नाटेश्वरी आधारभूत विद्यालयको मतदान केन्द्रमा मतपेटिका खोस्न थालेपछिको उत्पन्न परिस्थिति नियन्त्रणमा लिने क्रममा संयमता अपनाउँदा अपनाउँदै एक जनाको मृत्यु भएको बताएका हुन् ।

आठ प्रहरी र आठजना निर्वाचन कर्मचारीलाई घेराउ गरेर ढुङ्गामुढा गरी मतपेटिका खोस्न थालेपछि प्रहरीले बाध्य भएर स्थिति नियन्त्रणमा लिन खोज्दा गोली लागेर एक जनाको मृत्यु भएको उनले बताए।

उनले प्रहरीले पूर्ण अधिकार प्राप्त हुँदाहुँदै पनि धेरै संयमता अपनाएका कारण ठूलो दुर्घटना हुन नपाएको पनि बताए। दुई पक्षीय विवाद भएको र मतपेटिका नै खोस्न थालेपछि घटना हुन पुगेको उनको भनाइ छ।

स्थानीयले ढुङ्गा र बाँसले हानेर केही प्रहरीसमेत घाइते भएका उनले बताए। उनले बाजुरा, सुर्खेतलगायत केही क्षेत्रमा मतदान स्थगित भएको र कतै दुई पक्षीय झडप, त कतै विवाद भएको जानकारी आएको पनि बताए।

अन्य क्षेत्रमा शान्तिपूर्ण रूपमा मतदान भएको तर सबै जिल्लाको विस्तृत विवरण भने आउने क्रममा रहेको सचिव सिंहले जानकारी दिए। सो क्षेत्रमा अहिले नेपाली सेनाको टोलीसमेत पठाइएको गृहमन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077