Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

निर्वाचन आचारसंहिता प्रभावकारी कार्यान्वयन गर्न आयोगको चारबुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगको केन्द्रीय आचारहिता अनुगमन समितिले मौन अवधिमा चुनाव प्रचार गरे दल तथा उमेदवारलाई २५ हजार रुपैयाँ जरिवाना गराउने चेतावनी दिएको छ ।

समितिको बिहीबारको बैठकले मौन अवधिमा प्रचार गरे २५ हजार रुपैयाँ जरिवाना गराउनेसहित थप चार निर्णय गरेको हो ।

यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आज मध्यरातदेखि मौन अवधि सुरु हुँदैछ ।

यस अवधिमा कुनै उम्मेदवार वा राजनीतिक दलको पक्ष वा विपक्षमा मतदान गर्ने वा नगर्ने उद्देश्यले सभा बोलाउन वा आयोजना गर्न, जुलुस निकाल्न वा नाराबाजी गर्न तथा अन्य कुनै पनि प्रकारले प्रचारप्रसार गर्न वा गराउन नपाइने कानुनी व्यवस्था छ।

यस्ता छन् चार निर्णय :

१) निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा २४ को उपदफा (५) मा कसैले पनि मतदान हुने दिनभन्दा ४८ घण्टाअघिदेखि मतगणनाको काम पूरा नभएसम्म कुनै उम्मेदवार वा राजनीतिक दलको पक्ष वा विपक्षमा मतदान गर्ने वा नगर्ने उद्देश्यले सभा बोलाउन वा आयोजना गर्न, जुलुस निकाल्न वा नाराबाजी गर्न तथा अन्य कुनै पनि प्रकारले प्रचारप्रसार गर्न वा गराउन नहुने र सोही दफाको उपदफा (७) मा सोविपरीतका कार्य गरेमा आयोग, निर्वाचन अधिकृत वा अनुगमनकर्ताले २५ हजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था रहेको, निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ मा मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुञ्जेलसम्म पालना गर्नुपर्ने विशेष आचरणसम्बन्धी व्यवस्था रहेको र संवत् २०७९ साल मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका सन्दर्भमा मिति २०७९/०८/०१ गते राति १२ बजेपछि निर्वाचन प्रचारप्रसारसम्बन्धी कार्य गर्न नपाइने भएकोले उल्लिखित कानुनी व्यस्था तथा निर्वाचन आचारसंहिताको प्रभावकारी रूपमा कार्यान्वयन गर्न देहायबमोजिमको व्यवस्था गर्नेः–

(क) मिति २०७९/०८/०१ गते राति १२ बजेपछि निर्वाचन प्रचारप्रसारसम्बन्धी वा राजनीतिक दल वा उम्मेदवारको गतिविधि वा प्रचारप्रसारसम्बन्धी कुनै पनि समाचार प्रकाशन वा प्रसारण नगर्ने तथा नगराउने प्रबन्ध गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र नेपाल प्रेस काउन्सिललाई लेखी पठाउने,

(ख) मिति २०७९/०८/०१ गते राति १२ बजेपछि मतगणनाको काम पूरा नभएसम्म कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला गोष्ठी, मष्तिष्क मन्थनलगायतका निर्वाचन प्रचारप्रसारसम्बन्धी कुनै पनि गतिविधि नगर्न वा नगराउन तथा फेसबुक, ट्विटर, युट्युब जस्ता सामाजिक सञ्जालमा निर्वाचन प्रचारप्रसारसम्बन्धी कुनै पनि सामग्री प्रकाशन वा प्रसारण, सेयर, ट्याग, लाइक, कमेन्ट वा प्रतिकमेन्ट नगर्न वा नगराउन तथा आफ्नो सामाजिक सञ्चालमा त्यस्तो सामग्री भएमा तत्काल हटाउन उम्मेदवार, राजनीतिक दललगायत सम्पूर्ण सरोकारवालाहरूलाई निर्देशन दिने,

(ग) मिति २०७९/०८/०१ गते राति १२ बजेपछि निर्वाचन प्रचारप्रसारसम्बन्धी कुनै पनि सामग्री फेसबुक, ट्विटर, युट्युब जस्ता सामाजिक सञ्जालमा नराख्न, सेयर, ट्याग, लाइक, कमेन्ट वा प्रतिकमेन्ट नगर्न वा नगराउन सर्वसाधारणलाई आह्वान गर्ने ।

२) मिति २०७९/०८/०१ गते राति १२ बजेपछि कसैले निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा २४ को उपदफा (५) विपरीत निर्वाचन प्रचारप्रसारसम्बन्धी कार्य गरेमा सोही दफाको उपदफा ९७० बमोजिम तत्काल जरिवाना गरी सोको जानकारी आयोगमा गराउन सम्पूर्ण निर्वाचन अधिकृत तथा अनुगमन अधिकृतहरूलाई निर्देशन दिने ।

३) मतदानको दिन मतदान केन्द्रको वरिपरि कुनै राजनीतिक दल वा उम्मेदवारको पहिचान देखिने खालका एकै रङ वा किसिमका साङ्‍केतिक अर्थ जनिने पोशाक, लोगो, ब्याज, झण्डा, टिसर्ट, ज्याकेट, गम्छा, टोपी, क्याप, भेष्ट, मास्क, झोला, स्टिकरलगायतका पहिरन र चीज वस्तु लगाएमा, प्रयोग गरेमा, देखाएमा र प्रदर्शन गरेमा तत्काल जफत गर्न सुरक्षाकर्मीलाई निर्देशन दिने ।

४) मिति २०७९/०८/०१ गते राति १२ बजेपछि सामाजिक सञ्जाल तथा अनलाइन सञ्चार माध्यमबाट कुनै राजनीतिक विज्ञापन नगर्ने नगराउने, यस अघि गरिएका यस्ता विज्ञापनहरु हटाउन सम्बन्धित सञ्चार माध्यमलाई अनुरोध गर्ने र सोको अनुगमन गर्न विज्ञापन बोर्डलाई निर्देशन दिने ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077