काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले निर्वाचनमा उत्साहका साथ सहभागी हुन मतदाता समक्ष आह्वान गरेका छन् ।
सप्तरी निर्वाचन क्षेत्र २ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार समेत रहेका यादवले अन्तिम चरणको घरदैलो अभियानका क्रममा आज कुराकानी गर्दै चुनावप्रति आम सप्तरीवासी र समग्र जनतामा ठूलो उत्साह रहेको बताएका छन् ।
लोकतान्त्रिक समाजमा आम मतदाताको सबैभन्दा ठूलो शक्ति नै मतदान हो भन्दै अध्यक्ष यादवले भने, ‘चुनाव भनेको लोकतन्त्रको महापर्व हो, यसमा सहभागी भएनौँ भने हामी कस्तो लोकतन्त्रवादी ? लोकतन्त्र, संघीयता, धर्म निरपेक्षता जोगाउनु छ भने मतदानमा सहभागी हुनुहोस् ।’
उनले मुलुकको भाग्य र भविष्य निर्धारण गर्ने समय निर्वाचन भएको भन्दै मतदानमा उत्साहका साथ सहभागी हुनुपर्ने बताए ।
‘जनप्रतिनिधिले गरेका कामको मूल्याङ्कन गर्नुस्, उसले अतितमा गरेका सङ्घर्षलाई सम्झिदिनुस्, मधेशको पहिचान र स्वाभाविनाको सङ्घर्षमा क–कसले के कस्ता योगदान दिए स्मरण गरिदिनुस् र लोकतन्त्रको महापर्वमा उत्साहका साथ मतदानमा सहभागी भइदिनुस् आम मतदातामा मेरो विनम्र अनुरोध छ,’ उनले मतदातासँग आग्रह गर्दै भने ।
मुलुकमा प्राप्त विभिन्न राजनीतिक उपलब्धि समाप्त पार्न विभिन्न खाले षड्यन्त्रसमेत भइरहेको भन्दै यादवले आम मतदातालाई सचेत हुन आग्रह समेत गरेका छन् ।
Leave a Reply