काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले चुनावी सभामा सबैलाई मन्त्री बनाउँछु भन्दै झुट बोलेर हिँडेको आरोप लगाएका छन् ।
आज (आइतबार) कालिकोटमा आयोजित चुनावी सभामा बोल्दै ओलीले यस्तो आरोप लगाएका हुन् ।
‘कतिजना मानिसहरू जहाँ पुग्यो त्यहीँको मानिसलाई मन्त्री बनाउँछु भनिरहेका छन्। हरिबहादुर भेटियो उसलाई मन्त्री बनाउँछु। रामबहादुर भेटियो उसलाई मन्त्री बनाउँछु… शान्तिदेवी देखियो मन्त्री बनाउँछु, क्रान्तिदेवी देखियो मन्त्री बनाउँछु,’ प्रचण्डप्रति लक्षित गर्दै ओलीले भने, ‘यस्तो खालको अव्यवहारिक र अनुचित तरिका हो।’
दुर्गम ठाउँबाट जिताएका व्यक्तिलाई मन्त्री बनाउने स्वभाविक भएको ओलीले बताए। प्रचण्डलाई आफूले शक्तिशाली पार्टीको अध्यक्ष बनाएको तर उनले त्यसलाई लत्याएको पनि उनको आरोप थियो ।