झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफु सम्पत्ति कमाउनका लागि राजनितीमा नआएको प्रष्ट पारेका छन् । गृह जिल्ला झापा पुगेका ओलीले चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै आफू जोगी र सन्यासीजस्तै भएको बताए ।
कार्यक्रममा ओलीले भने, ‘म तपाईँहरूले छानेको प्रतिनिधि जोगी र सन्यासी जस्तै हो । जनताले जे उपहार दिन्छन् त्यो जनतालाई नै बाँड्ने हो । मलाई धन कमाउनु छैन । झापाको मान्छे मुगु र हुम्लाका छोराछोरी पढाएको छु, सम्पत्ति कमाउनु छैन ।’
अध्यक्ष ओलीले एमाले र एमालेका उम्मेदवारलाई जिताउन आग्रह गर्दै आफूलाई निजी स्वार्थको कुनै प्रवाह नभएको पनि बताए ।
माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबिरुद्ध खनिएका ओलीले माओवादीका नेता कार्यकर्तालाई प्रचण्डको पछि नलाग्न आग्रह समेत गरे।
उनले भने, ‘हिजो हामीले नेकपा बनाएका थियौँ । तपाईंहरु माओवादीको होइन नेकपाको हुनुहुन्छ । प्रचण्डको पछाडि भुलले लाग्नुभयो । फर्किनुस् ।’
ओलीले माधव नेपाल नेतृत्वको नेकपा एस भन्ने पार्टी नै नभएको टिप्पणी गरे । एमाले सिध्याउने खेलको अवसान मंसिर ४ गते हुने बताए ।त्यस पार्टीमा अलमलिएर बसेको केही साथीहरुलाई एमालेमा फर्किन आग्रह गरे ।
स्वतन्त्र हुँ भनेर घण्टी बजाउँदै, लौरो टेक्दै आएकाहरुको भ्रममा नपर्न आग्रह गरेका ओलीले भने, ‘कोहीलाई पत्रकारिता गर्दागर्दा राजनीति गर्न मन लाग्छ ।
ठीकै छ उम्मेदवार भएका छन् । तर, उनलाई भोट दिएर के गर्ने ? त्यस्ता मान्छे यहाँ पनि आएका होलान् । तिनीहरुले केही गर्न सक्दैनन् ।’
Leave a Reply