काठमाडौँ । नेकपा एमाले उम्मेदवारलाई जोडेर समाचार लेखेको भन्दै सेतोपाटी अनलाइनलाई शनिबार प्रष्टिकरण सोधेको निर्वाचन आयोग पछि हटेको छ।
सेतोपाटीमा छापिएको ‘अग्नि खरेलका छोरा निशान अमेरिकी सेनामा नेपाली नागरिकता कायमै’ भन्ने शीर्षकमा छापिएको समाचारले उम्मेदवारको मान प्रतिष्ठामा आँच पुगेको भन्दै आयोगले २४ घण्टे प्रष्टिकरण माग गरेको थियो।
शनिबार साँझ प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले सेतोपाटीका प्रधान सम्पादक अमित ढकाललाई फोन गरेर भुलवस पत्र काटिएको जनाउँदै प्रष्टिकरण पत्र फिर्ता लिने जानकारी गराएका हुन्।
स्रोतले भन्यो, ‘आयुक्त भएको निर्णय सच्याउने अधिकार मलाई छैन भनेर अधिकृृत पन्छिदा शनिबार नै अर्को पत्र पठाउन सकिएन। आइतबार प्रष्टिकरण पत्र फिर्ता लिएको अर्को पत्र सेतोपाटीलाई जान्छ।’
थपलियाले मिडियाको अनुगमन र कारबाही गर्ने जिम्मेवारी प्रेस काउन्सिलकै भएको र त्यसलाई आयोगले नीतिगत रुपमा स्वीकार गरिसकेकाले फरक व्यवाहार नहुने प्रतिबद्धता जनाएका छन्।