काठमाडौं । सार्वजनिक पद धारण गरेका व्यक्तिले प्रचारप्रसारमा जाँदा निर्वाचन आयोगको अनुमति लिनुपर्ने आयोगले बताएको छ ।
बुधबार आयोगले गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले यस्तो बताएका हुन् ।
उनले कात्तिक १७ गतेदेखि दोस्रो चरणको चुनावी प्रचारप्रसार गर्न पाइने भन्दै सार्वजनिक पदमा आसीन व्यक्तिले निर्वाचन प्रचारप्रसारमा जाँदा आयोगको अनुमति लिनुपर्ने बताए ।
त्यस्तै सार्वजनिक पदमा रहेका व्यक्तिले चुनावी प्रचारप्रसारमा जाँदा सरकारी सवारी प्रयोग गर्न नपाइनेसमेत आयोगले जनाएको छ ।
प्रमुख आयुक्त थपलियाले भने, ‘नेपाल सरकार तथा प्रदेश सरकारका मन्त्रीहरूले आयोगको सहमतिमा निर्वाचन प्रचारप्रसारमा सहभागी हुन पाउने व्यवस्था गरिएको छ ।
निर्वाचन आयोगले नेपालको संविधानले प्रदान गरेको नेपालको कुनै पनि भू-भागमा आवतजावत गर्न पाउने हकलाई रोकटोक गर्दैन ।
तर‚ सार्वजनिक पद धारण गरेका माननीय प्रधानमन्त्री‚ मन्त्री र प्रदेशमन्त्रीज्यूहरूले अनुमति लिएर जानसक्नुहुन्छ । त्यसरी जाँदा कुनै पनि सरकारी स्रोतसाधनको प्रयोग गर्न हुँदैन।’
त्यस्तै आयोगले यो निर्वाचनमा दल र उम्मेदवारले गरेको खर्चको अडिट गर्नेसमेत जनाएको छ । निर्वाचन आचारसंहिता उल्लंघन गर्नेलाई दण्ड‚ जरिवाना भने आयोगले नै निर्क्योल गर्ने उनले बताए । उम्मेदवारको निर्वाचनसम्बन्धी खर्च अरूले गर्न नपाइनेसमेत आयोगले स्पष्ट पारेको छ ।