काठमाडौं । आगामी मंसिर ४ गते हुने आम निर्वाचनका लागि दलहरुले बिहीबारदेखि चुनाव केन्द्रित प्रचारप्रसारलाई व्यापक बनाउन पाउने भएका छन् ।
उम्मेदवारहरूले कात्तिक १७ गतेदेखि मङ्सिर १ गतेसम्म प्रचारप्रसारअन्तर्गत जुलुस,आमसभा,कोणसभा गर्न पाउने निर्वाचन आयोगले जनाएको हो।
निर्वाचन आचारसंहिताको दफा १३ मा राजनीतिक दल, उम्मेदवार, दलको भ्रातृ सङ्गठन तथा सम्बन्धित व्यक्तिले जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा निर्वाचन प्रचारप्रसारसम्बन्धी कार्य गर्दा पालना गर्नुपर्ने आचरणको व्यवस्था गरिएको छ ।
उक्त दफा १३ 'म' मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि मतदान हुने दिनभन्दा १७ दिनअघिदेखि मात्र निर्वाचन प्रचारप्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न र सञ्चारमाध्यममा आफ्नो निर्वाचनसम्बन्धी सामग्री प्रकाशन वा प्रसारण गर्न सकिने व्यवस्था गरिएको आयोगले जनाएको छ ।
आचारसंहिता बमोजिम निर्वाचन प्रचारप्रसारका लागि आमसभा, कोणसभा गर्दा मञ्चको तयारीका लागि लागेको खर्चको विवरण सम्बन्धित उम्मेदवारले आफैँ वा प्रतिनिधिमार्फत् मतदान सम्पन्न भएको १५ दिनभित्र निर्वाचन कार्यालयमा पेस गर्नुपर्नेछ ।
यसैबीच निर्वाचन आयोगले बुधबार पत्रकार सम्मेलन राखेको छ । दिउँसो २ बजे हुने पत्रकार सम्मेलनमा निर्वाचनको तयारीका साथै यससँग सम्बन्धित विषयमा जानकारी गराइने बताइएको छ ।