एजेन्सी । घरेलु टोली अष्ट्रेलियाले आइसिसी टि-२० विश्वकपमा पहिलो जित दर्ता गरेको छ । मंगलबार भएको खेलमा अष्ट्रेलियाले श्रीलंकालाई ७ विकेटले पराजित गरेको हो ।
श्रीलङ्काले दिएको एक सय ५८ रनको लक्ष्य अस्ट्रेलियाले १६ ओभर ३ बलमा तीन विकेट गुमाएर भेटायो । उसका मार्कस स्टोइनिसले १८ बलमा नटआउट ५९ र ग्लेन म्याक्सवेलले २३ रन बनाए ।
बलिङतर्फ धनन्जय डि सिल्भा, चमिका करुनारत्ने र महेश थिकसनाले एकरएक विकेट लिए । त्यसअघि पर्थमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको श्रीलंकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५७ रन बनाएको थियो ।
श्रीलंकाका ओपनर पाथुम निसांकाले ४५ बलमा २ चौकासहित सर्वाधिक ४० रन बनाए । चरिथ असलंकाले २५ बलमा ३ चौका र २ छक्कासहित ३८ रन जोडे ।
बलिङतर्फ जोश हेजलवुड, प्याट कमिन्स, याशटन अगर, मिचेल स्टार्क र ग्लेन म्याक्सवेलले एकरएक विकेट लिए । अष्ट्रेलिया पहिलो खेलमा न्युजिल्यान्डसँग ८९ रनले पराजित भएको थियो ।
श्रीलंकाले आयरल्यान्डलाई ९ विकेटले हराएको थियो । सुपर १२ को समूह ए मा रहेको अष्ट्रेलियाले तेस्रो खेलमा शुक्रबार इंग्ल्यान्डसँग खेल्नेछ । सेमिफाइनल खेल्न उक्त खेल अष्ट्रेलियालाई जित्नै पर्ने हुन्छ । श्रीलंकाले न्युजिल्यान्डसँग शनिबार खेल्नेछ ।
Leave a Reply