काठमाडौं । निर्वाचन आयोगले समानुपातिकतर्फ ५ सय ५० जनाको उम्मेदवारी खारेज गरेको छ । आयोगले आसन्न मंसिर ४ को निर्वाचनको समानुपातिकतर्फका ५ सय ५० जना उम्मेदवारको नाम बन्दसूचीबाट हटाएको हो ।
विज्ञप्तिमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फ दलहरुले पेश गरेको बन्दसूचीमा नाम समावेश भएका ६ हजार ४५७ जना उम्मेदवारहरूमध्ये ५५० जनाको नाम बन्दसूचीबाट हटाइएको उल्लेख छ ।
जसमा निर्वाचन कानून तथा निर्वाचन आचारसंहिता बमोजिम तोकिएको जरिवाना नबुझाउने ३६९ जना रहेका छन् । उम्मेदवारहरूका सम्बन्धमा परेको दाबी विरोध उपर जाँचबुझबाट थप १८१ जनाको नाम सूचीबाट हटाइएको छ ।
१८१ जनामध्ये लाभको पदमा बहाल रहेका एक जना र कालोसूचीमा रहेका एकजना व्यक्तिको नाम पनि सम्बन्धित दलले पेश गरेको बन्दसूचीबाट हटाउने निर्णय गरेको आयोगको विज्ञप्तिमा उल्लेख छ ।
यस्तै बन्दसूचीमा समावेश रहेका मध्ये असोज २ गतेसम्म २५ वर्ष उमेर नपुगेका प्रतिनिधि सभा सदस्यतर्फ २३ जना र प्रदेश सभा सदस्यतर्फ २९ जना गरी ५२ जनाको नाम बन्दसूचीबाट हटेको छ ।
दोहोरो उम्मेदवारी परेका ६६ जना, महिला पुरूषको विवरण फरक परेका ३७ जना, कुनै गाउँपालिका वा नगरपालिकाको मतदाता नामावलीमा नाम नभएका प्रतिनिधिसभातर्फका ६ जना, सम्बन्धित प्रदेशभित्रको मतदाता नामावलीमा नाम नभएका प्रदेशसभातर्फका १२ जना र आवश्यक कागज प्रमाण पेश नभएका ६ जनाको नाम पनि सम्बन्धित दलले पेश गरेको बन्दसूचीबाट हटाउने निर्णय भएको छ ।
प्रतिनिधि सभातर्फ समानुपातिकमा ४८ दलका २ हजार ४ सय ३६ जनाको उम्मेदवारी परेको थियो । जसअनुसार प्रदेश नम्बर १ मा ३६ वटा दलका ६ सय ६१ जनाको उम्मेदवारी परेको थियो भने मधेस प्रदेशमा ३६ दलका ९ सय ४८ उम्मेदवारी परेको थियो ।
यसैगरी बागमती प्रदेशमा ४१ दलका ८ सय २५ जना, गण्डकी प्रदेशमा ३१ दलका ३ सय ६८ जना, लुम्बिनी प्रदेशमा ३२ वटा दलबाट ६ सय ५७ जना, कर्णाली प्रदेशमा २८ वटा दलबाट २ सय २२ जना र सुदूर पश्चिम प्रदेशमा ३४ दलबाट ३ सय ७६ जनाको उम्मेदवारी परेको थियो ।