काठमाडौं । नेकपा एमालेले सुदूरपश्चिमबाट देशव्यापी चुनावी अभियान थाल्ने भएको छ ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गरेर एमालेले देशव्यापी चुनावी अभियान त्रिदेशीय सीमा नाकामा अवस्थित दार्चुला जिल्लाबाट सुरु गर्ने भएको हो ।
कात्तिक १८ गते पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले अभियानको थालनी गर्ने जनाईएको छ ।
हेलिकप्टरमार्फत दार्चुला पुगेर ओलीले सदरमुकाम खलंगामा बिहान ११ बजे आमसभालाई सम्बोधन गरेर चुनावी अभियान थालनी भएको घोषणा गर्नेछन् ।
ओली सरकारको पालामा भारतले अतिक्रमण गरेको लिपुलेक, लिम्पियाधुरा, कालापानी समेटेर जारी गरेको चुच्चे नक्सा सार्वजनिक गरिएको थियो ।
पार्टीकाअनुसार १८ कात्तिक दार्चुलाबाट अभियान थालनी गरेपछि ओलीले सोही दिन दिउँसो २ बजे बैतडी र ४ बजे कञ्चनपुरमा आयोजना हुने चुनावी आमसभालाई सम्बोधन गर्नेछन् ।