काठमाडौं । निर्वाचन आयोग र पदाधिकारीलाई लाञ्छनापूर्ण अभिव्यक्ति दिइएको प्रति तीन नेतालाई स्पष्टीकरण सोधिएको छ । आयोगले ती दलका नेता र उम्मेदवारले लाञ्छनापूर्ण अभिव्यक्ति दिएको विषयमा अलग अलगरूपमा पत्र पठाई २४ घन्टाभित्र स्पष्टीकरण माग गरेको हो ।
आयोगले नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य लक्षीराम आचार्य, सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री एवं कैलालीको प्रदेशसभा क्षेत्र नं. ४ (क) का उम्मेदवार दीर्घबहादुर सोडारी, नेपाली कांग्रेस, सुदूरपश्चिम प्रदेशका सभापति एवं कैलाली क्षेत्र नं. ४ का प्रतिनिधि सभाका सदस्य वीरबहादुर बलायरलाई स्पष्टीकरण सोधेको हो ।
उनीहरुले चुनावीसभालाई सम्बोधन गर्ने क्रममा आयोग र आयोगका पदाधिकारीहरूलाई लाञ्छनापूर्ण अभिव्यक्ति दिएका थिए ।
“तपाईंहरूले कैलालीको प्रदेशसभा क्षेत्र नं. ४ (क) मा बिहीबार आयोजित कार्यक्रममा निर्वाचन आयोग नेपाल र यसका पदाधिकारीहरू उपर लाञ्छनापूर्ण अभिव्यक्ति दिनुभएको सूचना र सोलाई पुष्टी गर्ने सामग्री आयोगमा प्राप्त भइसकेको सन्दर्भमा तपाईंले उक्त अभिव्यक्ति दिनुभएको होइन भन्ने आधार र प्रमाण के छ ?” उनीहरुलाई सोधिएको पत्रमा भनिएको छ, “तपाईंले सार्वजनिक मञ्चमा दिनुभएको लाञ्छनापूर्ण अभिव्यक्तिले निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ को खण्ड (ढ) को उल्लंघन हुन गएकोले तपाईंलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) बमोजिमको कारबाही किन हुनु नपर्ने हो ?”
आयोगबाट आचारसंहिता लागू भइसकेको विषयको पूर्ण जानकारी रहेको अवस्थामा जिम्मेवार पार्टीको जिम्मेवार स्थानमा रहेर निर्वाचन आचारसंहिता विपरीत हुनेगरी अभिव्यक्ति दिएको देखिएकाले स्पष्टीकरण प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोग वा प्रदेश निर्वाचन कार्यालय कैलालीमा स्पष्टीकरण पेस गर्न आयोगले निर्देशन दिएको छ ।