काठमाडौं । वीर अस्पतालको मिर्गौला प्रत्यारोपण घटनामा अस्पताल र बिरामी पक्षबीच तीन बुँदे सहमति भएको छ ।
बिहीबार अस्पतालमा भएको छलफलमा बिरामीको हालसम्मको उपचार खर्च मिनाहा गर्ने र आगामी दिनको उपचार पनि निशुल्क गर्ने अस्पताल र बिरामी पक्षबीच सहमति भएको हो ।
यस्तै पीडित पक्षले विस्तृत छानबिनको लागि स्वास्थ्य मन्त्रालय र नेपाल मेडिकल काउन्सिलमा निवेदन दिने र छानबिन समितिको प्रतिवेदनको पूर्ण कार्यान्वयन गर्ने सहमति भएको अस्पतालले जनाएको छ ।
मंगलबार धादिङकी ३२ वर्षीय महिलामा प्रत्यारोपण गर्न निकालिएको दाताको मिर्गौला दुई डाक्टरले सम्बन्धित पक्षलाई जानकारी नै नगराइ अलपत्र छाडेर हिँडेका थिए ।
अस्पतालका प्रत्यारोपण सर्जन डा.पारसमणि नेपाल र डा.अनिल श्रेष्ठले मिर्गौला प्रत्यारोपण गर्न निकालिएको दाताको मिर्गौला त्यतिकै छाडेर हिँडेको अस्पतालको भनाइ छ ।
उनीहरुले ५८ वर्षीया महिलाको निकालिएको मिर्गौला काम नलाग्ने भएको भन्दै बिरामी र बिरामीका आफन्तलाई जानकारी नदिइ अस्पतालबाट हिँडेका थिए ।
Leave a Reply