काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहीता पूर्ण रुपमा पालना गर्न उम्मेदवारहरूलाई अनुरोध गरेको छ । राजनीतिक दलका उम्मेदवारहरू तथा स्वतन्त्र उम्मेदवारहरूले चुनाव प्रचारप्रसार गरेको उजुरी परेसँगै आयोगले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न सचेत गराएको हो ।
निर्वाचन आचारसंहिता केन्द्रीय अनुगमन समितिका संयोजकसमेत रहेका आयुक्त रामप्रसाद भण्डारीले आचारसंहिताअनुसार निर्वाचन हुने दिनभन्दा १७ दिन अगाडिदेखि (कार्तिक १८ गतेदेखि) मात्रै प्रचारप्रसार गर्न पाइने बताए ।
आयुक्त भण्डारीले उम्मेदवारहरूले घरदैलो कार्यक्रम गर्न पाउने र त्यसमा २५ जनाभन्दा बढी सहभागी हुन नपाउने प्रावधानलाई पनि पालना गर्न सचेत गराए । घरदैलोमा बाजागाजा र तामझाम गरिरहेको उजुरी आयोगमा परेको भन्दै उनले त्यस्ता कार्य नगर्न आग्रह गरे ।
घरदैलोमा तामझाम र बाजागाजा गर्नु पनि आचारसंहिता विपरीत हुने उनको भनाइ छ । आचारसंहिताको परिधिभित्र बसेर कानूनी सजाय नपाउनेगरी घरदैलो गर्न उनले उम्मेदवारहरूलाई आग्रह गरे ।