रुपन्देही । नेकपा एमाले परित्याग गरेर स्वतन्त्र उम्मेदवारी दिएका नेता घनश्याम भुसालले एमाले अध्यक्ष केपी शर्मा ओली पूर्व राजा ज्ञानेन्द्रभन्दा पनि निरंकुश भएको टिप्पणी गरेका छन् ।
आइतबार रुपन्देहीको धकधइमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता भुसालले यस्तो बताएका हुन् ।
भुसालले भने, ‘ओलीले पार्टीको विधान मिच्ने, संविधानलाई पनि कुल्चने जस्ता काम गरे, विधिविधान नमान्ने ओली ज्ञानेन्द्रभन्दा पनि निरंकुश भए ।’
उनले ओलीको जवरजस्तीपन र व्यक्तिवादी प्रवृत्तिले एमालेमा विचलन आएको बताए । पार्टीको नीति र सिद्धान्तभन्दा बाहिर गएर ओलीले काम गरेकाले पार्टीमा समस्या उत्पन्न भएको उनले तर्क गरे ।
पटकपटक संसद विघटन गरेर ओलीले देशलाई प्रतिगमनतर्फ लैजान खोजेको भन्दै त्यसविरुद्ध आफूले पार्टीमा संघर्ष गरेको भुसालले उल्लेख गरे ।
संसदलाई प्रहार गरेर लोकतन्त्रलाई खतरामा पार्ने काम ओलीले नै गरेको उनको भनाई थियो । एमाले परित्याग गरेर रुपन्देही १ बाट प्रतिनिधि सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।