काठमाडौं । रुपन्देही क्षेत्र नम्बर २ का उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज विरुद्धको रिट न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासमा परेको छ ।
आफ्नो उम्मेदवारी कायम नै हुनुपर्ने माग गर्दै निर्वाचन आयोग लगायतलाई विपक्षी बनाइएको रिटको पेसी न्यायाधीश फुयालको इजलासमा तोकिएको हो ।
पाँच दलीय गठबन्धनका तर्फबाट उम्मेदवार बनेका एकीकृत समाजवादीका नेता गुरुङको उम्मेदवारी निर्वाचन अधिकृतको कार्यालय, रुपन्देही क्षेत्र नम्बर २ का निर्वाचन अधिकृत उदवीर नेपालीले खारेज गरिदिएका थिए ।
निर्वाचन अधिकृतको कार्यालयले बैंकिङ कसूर मुद्दामा कालोसूचीमा रहेको भन्दै उनको उम्मेदवारी खारेज गरिदिएको थियो ।
तर आफू व्यक्तिगत रुपमा कालोसूचीमा परेको नभई आफ्नो कम्पनी मात्रै कर्जा सूचना केन्द्रको कालोसूचीमा परेको र उक्त निर्णय बदरका लागि अदालत पुगी मुद्दा विचाराधीन रहेको भन्दै निर्वाचन अधिकृतको निर्णयविरुद्ध गुरुङ सर्वोच्च गएका थिए ।