एजेन्सी । दक्षिण भारतीय राज्य केरलमा दुई महिलाको बलि दिइएको खुलासा भएको छ ।
धर्मापुरम जिल्ला घर भई कोची बस्दै आएकी ५७ वर्षीया पद्मम र थ्रिसुर जिल्ला घर भई कलाडी बस्दै आएकी ४९ वर्षीया रोसिलीको हत्या भएको हो ।
मंगलबार दुवै महिलाको शवको अवेशष जमिनमा गाडिएको अवस्थामा फेला पारिएको हो । अधिक धन लाभ हुने अन्धविश्वासमा उनीहरुको बलि दिइएको हुनसक्ने प्रहरीको अनुमान छ ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पथानामथिट्टाका आयुर्वेदिक चिकित्सक भगवल सिंह, उनकी श्रीमती लैला र गोप्य रूपमा औषधिको कारोबार गर्ने इडुक्की जिल्लाका सफी भनेर चिनिने रसिद रहेको कोची प्रहरी प्रमुख सीएच नागाराजुले बुधबार पत्रकार सम्मेलन गरी बताएका छन् ।
बुधबार नै कोची अदालतबाट ३ साताको म्याद लिई उनीहरूलाई अनुसन्धानका लागि न्यायिक हिरासतमा राखिएको नागाराजुले जानकारी दिएका छन् । पद्ममको हत्या सेप्टेम्बर अन्तिम साता भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको नागाराजुले बताए ।