काठमाडौं । उम्मेदवारहरुले सामाजिक सञ्जालमा गरिएको विज्ञापन पनि निर्वाचन खर्चमा समावेश हुने भएको छ ।
सोमबार विज्ञप्ति जारी गर्दै निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारहरूले सामाजिक सञ्जालको प्रयोग गरेर चुनावी प्रचार गरे निर्वाचन खर्चमा समावेश हुने जनाएको हो ।
आइतबार देशभर १६५ प्रतिनिधिसभा सदस्य र ३३० प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दर्ता भएको छ । उम्मेदवारी दिएकामध्ये कतिपयले सामाजिक सञ्जालमा आफ्नो प्रचारप्रचार र विज्ञापन गर्न थालेको आयोगले जनाएको छ ।
आयोगले भनेको छ, ‘सामाजिक सञ्जालमार्फत हुने विज्ञापनको सबै खर्च विवरण समेत चुस्तदुरुस्त राख्न सबै राजनीतिक दल र उम्मेदवारलाई आग्रह गरिन्छ ।’
आयोगले जारी गरेको निर्वाचन व्यवस्थापनमा सामाजिक सञ्जालको उपयोग सम्बन्धी नीति २०७७ बमोजिम सामाजिक सञ्जालबाट गरिएका र गरिने प्रचारको अनुगमन र मूल्यांकन भइरहेको आयोगले जनाएको छ ।
निर्वाचन आयोगले निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले होच्याउने, दुश्प्रचार गर्ने, भ्रमक सूचना दिने जस्ता टिप्पणी नगर्न र नगराउन समेत आग्रह गरेको छ ।
हेर्नुहोस् निर्वाचन आयोगको प्रेस विज्ञप्ति