काठमाडौं । निर्वाचन आयोगले उम्मेदवारी मनोनयनका लागि २५ जना भन्दा बढी निर्वाचन अधिकृतको कार्यालयमा नजान राजनीतिक दल र उम्मेदवारहरूलाई आग्रह गरेको छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचन आचार संहिताको पूर्णरूपमा पालना गर्न दल तथा उम्मेदवारहरूलाई आग्रह गरेका हुन् ।
आयोगले शनिवार गरेको पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त थपलियाले सरकारी स्रोत, साधनको प्रयोग गरेर निर्वाचनको प्रचारका लागि आफ्नो निर्वाचन क्षेत्रबाहेक अन्य ठाउँमा नजान पनि मन्त्रीहरूलाई रोक लगाइएको जानकारी दिए ।
अन्य निर्वाचन क्षेत्रमा कुनै काम विशेष जान पर्यो भने आयोगको अनुमति अनिवार्य रूपमा लिनुपर्ने व्यवस्था निर्वाचन आचारसंहितामा उल्लेख गरिएको उनले बताए ।