काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि भोलि हुने प्रत्यक्ष तर्फको उम्मेदवारी दर्ताको काम निर्धारित समयभित्रै गर्न निर्वाचन आयोगले आग्रह गरेको छ ।
शनिवार आयोगले गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले यस्तो बताएका हुन् । मनोनयन दर्ताको समय समेत नसर्ने भन्दै ५ बजेभित्र दर्ता गराइसक्न राजनीतिक दलहरूलाई आयोगले आग्रह गरेको छ।
प्रमुख आयुक्त थपलियाले भने, '१० बजेदेखि पाँच बजेसम्म समय तोकिएको छ। समयभन्दा उता आयोगले मनोनयन लिने छैन। राजनीतिक दलहरूलाई पर्ने अप्ठ्यारामा सहजीकरणका निम्ति आयोग तयार छ। तर मनोनयनको समय र दिन भने सर्दैन।'
विगतमा २ दिन उम्मेदवारी दर्ता गर्ने समय दिँदा पनि दलहरू दोस्रो दिनको अन्तिम समयमा आएर उम्मेदवारी दर्ता गर्ने गरेको आयोगको अनुभव रहेको बताउँदै निर्वाचन कार्यक्रम सार्ने अवस्था नरहेको बताए ।