काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि स्वदेशी र विदेशी गरी करिब २० हजार पर्यवेक्षक परिचालित हुने भएका छन्।
आयोगले पर्यवेक्षणका लागि गरेको आह्वानअनुसार आवेदन दिई स्वीकृति प्राप्तमध्ये ४३ वटा स्वदेशी संस्थाले पेस गरेका आँकडा अनुमान गर्दा करिब २० हजार पर्यवेक्षक हुने आयोगका सहप्रवक्ता कमल भट्टराईले जानकारी दिए।
आयोगले भारत, बंगलादेश, भुटान, माल्दिभ्स, पाकिस्तान र श्रीलंकाका प्रमुख निर्वाचन आयुक्तहरू तथा मतदानको दिन अवलोकनका लागि नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रमुखहरूलाई मतदानको अवलोकनका लागि आग्रह गरेको छ।