काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ गते हुने निर्वाचनमा उम्मेदवारले खर्च गर्न पाउने रकमको अधिकतम सीमा प्रस्ताव गरेको छ। आयोगले प्रदेश र प्रतिनिधिसभातर्फ ८/८ लाखसम्म खर्च सीमा बढाउने प्रस्ताव गरेको हो ।
यसअघि उम्मेदवारहरूले प्रदेशसभामा अधिकतम १५ लाख र प्रतिनिधिसभामा २५ लाख खर्च गर्न पाउँथे । यसपटक भने प्रदेशसभातर्फ १८ लाख र प्रतिनिधिसभातर्फ उम्मेदवार बन्नेले अधिकतम ३३ लाख रुपैयाँ खर्च गर्न पाउने भएका छन् ।
यस पटक आयोगले प्रदेश र प्रतिनिधिसभातर्फ विभिन्न ४ आधारमा ५ वटा वर्गमा खर्च सीमाको प्रस्ताव गरेको छ । निर्वाचन क्षेत्रभित्र सूचीकृत मतदाताहरूको कुल संख्या, निर्वाचन क्षेत्रको क्षेत्रफल, मतदान केन्द्र संख्या र मुद्रास्फितिलाई आयोगले आधार मानेको छ ।
जसमा २५ लाख, २९ लाख, ३१ लाख र ३३ लाख निर्धारण गरिएको छ। त्यस्तै, प्रदेश सभातर्फ पनि पाँच समूह बनाएर १५ लाख, १७ लाख, १९ लाख, २१ लाख र २३ लाख प्रस्ताव गरिएको छ।