काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभाको समानुपातिकतर्फको बन्दसूची सच्याउन दलहरूलाई पत्राचार गरेको छ ।
सबै राजनीतिक दलले पेस गरेको बन्दसूची कानूनी व्यवस्थाअनुसार नमिलेको भन्दै आयोगले दलहरुलाई कानूनी व्यवस्थाअनुसार सच्याउन पत्राचार गरेको हो । ६ वटा राष्ट्रिय दललाई १४ गतेभित्र समानुपातिक बन्द सूची सच्याइसक्न भनिएको छ ।
‘कसैको क्लस्टर मिलेको छैन । कसैको नाम मिलेको छैन । कानुनअनुसार नभएपछि सच्याउन दलहरूलाई पत्राचार गरिएको हो,’ समानुपातिक निर्वाचनतर्फका प्रवक्ता गुरुप्रसाद वाग्लेले भने ।
प्रतिनिधिसभाको समानुपातिकतर्फ ४८ दलले बन्दसूची पेस गरेका थिए । प्रवक्ता वाग्लेका अनुसार ४८ वटै दलको सूची मिलेको छैन । गत २ असोज र ३ मा दलहरूले बन्दसूची पेस गरेका थिए ।