कैलाली । स्वास्थ्य सेवा सुधारको माग राख्दै धनगढीमा आमरण अनसनमा बसेका डा. गोविन्द केसीको समर्थनमा युवाहरूले प्रदर्शन गरेका छन् ।
शनिबार युवाहरूको एक समूहले पार्क मोडमा डाक्टर केसीको स्वास्थ्य अवस्थाप्रति सरकारको ध्यानाकर्षण गर्न प्रदर्शन गरेका हुन् ।
धनगढीको एलएनचोकस्थित कृष्णमन्दिरको धर्मशालामा ७ बुँदे मागसहित डाक्टर केसी ६ दिनदेखि २० औं सत्याग्रहमा बसेका छन्। सत्याग्रहको तीन दिनपछि उनको स्वास्थ्य अवस्था बिग्रिएको छ। उनी सेती प्रादेशिक अस्पतालको बेडमै सत्याग्रहमा छन् ।
खाना नखाएपछि उनको स्वास्थ्यमा गम्भीर समस्या देखिएको भन्दै प्रादेशिक अस्पतालले एक सूचना समेत जारी गरेर जानकारी गराएको छ । धनगढीको पार्क मोडमा भएको प्रदर्शनमा सहभागी युवा रोहित चन्दले डाक्टर केसीले उठाएका जायज माग पुरा गराउन सरकारलाई दबाव दिन मौन प्रर्दशन गरिएको जानकारी दिए ।
उनले डाक्टर केसीको जीवन रक्षाको मागसमेत गरे । यदी सरकारले माग पुरा गर्नतिर ध्यान दिएन् भने प्रदर्शन जारी रहने उनले बताए । यसैगरी डाक्टर केसीसँग वार्ता गर्न सरकारले वार्ता टोलीसमेत गठन गरिसकेको छ । सम्भवतः वार्ता टोली डाक्टर केसीसँग भोलि वार्ता गर्नेछ ।