काठमाडौँ । करोडौ घोटला गर्न लागेको भन्दै नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।
नेपाल टेलिकमका कर्मचारीहरुले आइपीटि र आइपीएलसी ब्याण्डविथ भाडामा खरिद गर्ने सम्बन्धमा आर्थिक चलखेल गरेको आरोप लगाउँदै पौडेलविरुद्ध अख्तियारमा उजुरी दिएका हुन् ।
उनीहरुले कम्पनीमा नयाँ एपडी पौडेल आएदेखि नै विभिन्न अनुचित चलखेलहरु भईरहेको दाबी गर्दै अख्तियारलाई छानविन गर्न माग गरेका छन् ।
जेठ २३ गते टेलिकमको केन्द्रीय कार्यालयमै बैठक बसेर छ अर्ब २२ करोड ५७ हजार भन्दा बढीको ब्याण्डविथ खरिद गर्न टेण्डर आह्वान गर्ने निर्णय गरिएको भएपनि पौडेलले हालसम्म नयाँ टण्डर आह्वान नगरी बैठकको निर्णय विपरित काम गरेको उजुरीमा उल्लेख छ ।
पुरानो टेण्डरको समय समाप्त भईसकेको भन्दै उनले अनुचित चलखेल गर्न थालेपछि हालसम्म काम हुन नसकेको कर्मचारीहरुको आरोप छ ।
हालका प्रबन्ध निर्देशक पौडेल, सिटिओ प्रतिभा बैद्य, म्यानेजर देबेन्द्र खतिवडा र डा. बिमल आचार्यको मिलेमोतोमा नयाँ टेण्डर नखोली पुरानो सप्लायर्सलाई नै करिब १ वर्ष म्याद थपेर करोडौ कमिसन लिन लागेको उजुरीमा भनिएको छ ।
विवादास्पद छवीका पौडेल सेक्युरिटी प्रिन्टिङ प्रेसको अनियमिताता प्रकरणमा मुछिएका सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक बिकल पौडेल निकट हुन् ।
पौडेललाई देउवा सरकारले चैत २४ गते नेपाल टेलिकमको प्रबन्ध निर्देशक पदमा नियुक्त गरेको थियो। उनको टेलिकममा आएको पाँच महिना पुरा भएको छ। तर, पौडेलले कुनै उल्लेखनिय काम गर्न सकेका छैनन्।