काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावली प्रकाशन गरेको छ । आयोगले शुक्रवार अन्तिम नामावली प्रकाशन गरेको हो ।
आयोगले मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि अन्तिम नामावली प्रकाशन गरेको हो । आयोगका अनुसार निर्वाचनमा कुल एक करोड ७९ लाख ८८ हजार ५७० मतदाता रहेका छन् ।
यो सख्या साउन १९ गतेभित्र मतदाता नामावलीमा नाम दर्ता गराएको हो । आयोगका अनुसार कुल संख्यामध्ये ८८,४७,५७९ महिला, ९१,४०,८०६ पुरुष र १८५ जना अन्य रहेका छन् । यस्तै १०,८९१ मतदान स्थल र २२,२२६ मतदान केन्द्र रहेको आयोगले जनाएको छ ।
आयोगका अनुसार सबभन्दा धेरै मतदाता मोरङमा छन् । त्यहाँ ७ लाख ३५ हजार ५२५ मतदाता छन् । झापामा ६ लाख ६३ हजार ३११ र काठमाडौंमा ६ लाख ५२ हजार १२६ मतदाता छन् ।
सबभन्दा कम भने मनाङमा ६ हजार ७७९ मतदाता छन् । मुस्ताङमा १० हजार ९५७ र डोल्पामा २२ हजार ७७४ मतदाता छन् ।
प्रदेशगत रुपमा सबभन्दा धेरै मतदाता बागमतीमा छन् । यहाँ ३४ लाख ७१ हजार ४९२ मतदाता छन् भने सबभन्दा कम कर्णाली प्रदेशमा १० लाख ८ हजार ४०३ छन् ।