काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय भूमि आयोगलाई लालपुर्जा वितरण गर्ने लगायतका सम्पूर्ण कार्यहरु स्थगित गर्न निर्देशन दिएको छ। साथै आयोगले नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तहलाई वैदेशिक भ्रमण नगर्न नगराउन पनि निर्देशन दिएको छ।
आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले निर्वाचनको प्रक्रिया शुरु भइसकेको अवस्थामा स्वच्छता र निष्पक्षता कायम राख्न निर्वाचन सम्पन्न नभएसम्मका लागि भइरहेका जग्गा वितरण सम्बन्धी निवेदन लिने, जग्गा नापजाँच गर्ने र जग्गाको निस्सा तथा लालपूर्जा वितरण गर्ने लगायतका सम्पूर्ण कार्यहरु तत्काल स्थगित गरी सोको यथार्थ जानकारी दुई दिनभित्र निर्वाचन आयोगलाई दिन राष्ट्रिय भूमि आयोगलाई निर्देशन दिएको जानकारी दिएका छन् ।
त्यस्तै आयोगले सम्बन्धित आयोजक तथा प्रायोजकबाट सम्पूर्ण खर्चहरू बेहोर्ने गरी स्वीकृत गरिने वैदेशिक भ्रमण बाहेक नेपाल सरकारलाई प्राप्त हुने अनुदान तथा सहयोग रकमबाट र नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको कोषबाट कुनै पनि रकम खर्च हुने गरी गरिने वैदेशिक भ्रमण नगर्न नगराउन नेपाल सरकार, ७ वटै प्रदेश र ७५३ वटै स्थानीय तहहरूलाई निर्देशन दिएको छ ।
प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन आउँदो मंसिर ४ गते आइतबार एकै चरणमा हुने गरी घोषणा भएको र निर्वाचनको तयारीका कार्यहरू भइरहेकोले बिहीबार एक विज्ञप्ती जारी गर्दै उक्त निर्देशन दिएको हो।