काठमाडौं । निर्वाचन आयोगले आजदेखि चार वटा प्रदेशको प्रदेशसभा सदस्य समानुपातिकतर्फको मतपत्र छाप्दै छ ।
आयोगका अनुसार प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेश सभाको समानुपातिक तर्फका मतपत्र छाप्न लागिएको हो । भने बाँकी लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको मतपत्र पछिल्लो चरणमा छाप्ने योजना आयोगले बनाएको छ ।
चार वटा प्रदेशका लागि झन्डै एक करोड ३१ लाख थान मतपत्र छाप्ने आयोगले जनाएको छ । आयोगले भक्तपुरको जनक शिक्षा सामग्री केन्द्रको छापाखानामा मतपत्र छाप्दै आएको छ ।
निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको समानुपातिकतर्फको नमुना मतपत्र छपाइ सकिएलगत्तै प्रदेश सभा सदस्यको समानुपातिकतर्फको मतपत्र छपाइ सुरु हुने जानकारी दिए ।
आयोगका अनुसार प्रतिनिधि र प्रदेश सभाको समानुपातिकतर्फ झन्डै २० लाख नमुना मतपत्र छापिँदैछ ।