काठमाडौं । निर्वाचन आयोगले प्रधानमन्त्री र मन्त्रीहरुलाई चुनाव प्रचारमा सहभागी हुन रोक लगाएको छ ।
सोमबार राजपत्रमा प्रकाशित निर्वाचन आचारसंहितामा कुनैपनि मन्त्री र स्थानीय तहको जनप्रतिनिधि राजनीतिक दलको मुख्य प्रचारक र प्रचारक भई प्रचारप्रसारमा खटिन नपाउने व्यवस्था गरेको छ ।
आयोगले तयार पारेको उक्त आचार संहिता आयोगले नै तोकेको दिनवाट लागू हुनेछ । यसअघि आयोगको छलफलमा दलहरुले यो व्यवस्थाको विरोध गरेका थिए। तर आयोगले यो व्यवस्था राखेर राजपत्रमा प्रकाशित गरेको छ।
आयोगले नेपाल सरकार, प्रदेश सरकार, मन्त्री र स्थानीय कार्यपालिका र कार्यपालिका पदाधिकारीले पालना गर्नुपर्ने ८ वटा आचरण तोकेको छ ।
कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचार प्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नपाउने भनिएको छ।
तर निर्वाचनमा आफैं उम्मेदवार भएका प्रधानमन्त्री र मन्त्री आफ्नो क्षेत्रमा प्रचारप्रसार गर्न जान सक्ने आचार संहितामा उल्लेख छ ।