काठमाडौं । प्रतिनिधि सभा सदस्य प्रेम सुवालले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग संशोधन विधेयक मानवताविरुद्धका अपराधीलाई उन्मुक्ति दिने गरी ल्याउन लागिएको बताएका छन्।
बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग संशोधन विधेयक २०७९ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथिको प्रतिनिधि सभा बैठकमा विरोध जनाउँदै सुवालले मानव अधिकार उल्लङ्घन गर्नेलाई उन्मुक्ति दिन नसकिने बताए।
उनले भने, ‘मानव अधिकारको उल्लङ्घन मेलमिलापबाट हुने भए त्यो मानव अधिकार उल्लङ्घन नै भएन नि ?’ सुवालले सत्ता गठबन्धनका दलालाई गठबन्धन गरेर चुनावमा जान सहज बनाउनको लागि विधेयक ल्याउन लागेको बताए।
‘सिंहदरबार भागबण्डा हुने, पीडितले न्याय नपाउने ? सुवालले प्रश्न गरे। सुवालले ऐनमा सशस्त्र द्वन्द्व किन भएको थियो भन्ने विषयमा कुनै कुरा उल्लेख नभएको भन्दै आलोचना गरे।