काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा शेखर कोइराला पक्षमाथि खनिएका छन् । देउवाले आफूलाई फेरि सभापति हुने मन नभएको तर निहुँ खोजे फेरि विधान संशोधन गरेर सभापति हुने चेतावनी दिएका हुन् ।
बुधबार पार्टीको केन्द्रीय समिति बैठकमा नेताहरुले सभापति देउवाको आलोचना गर्दै चुनावमा गठबन्धन गर्न आवश्यक नभएको बताएका थिए । केन्द्रीय सदस्य सञ्जयकुमार गौतमले गठबन्धन गरेर चुनाव त जितिएला तर पार्टीले हार्ने बताएका थिए ।
उनलाई जवाफ दिँदै सभापति देउवाले ‘मलाई धेरै नजिस्क्याउनुस् तपाईंहरु, राम्रो पार्टी बनाएर योग्य नेतालाई छोड्न चाहन्थेँ । यस्तै गर्नुभयो भने विधान संशोधन गरेर फेरि सभापति हुन सक्छु’ भनेको एक नेताले बताए ।
नेपाली कांग्रेसको विधानमा एक जनाले दुई पटक मात्र सभापति हुन पाउने व्यवस्था छ । तर देउवाले शेखर पक्षका नेताहरुलाई लक्षित गर्दै यस्तै गतिविधि गरे विधान संशोधन गरेर सभापति हुने बताएका हुन् ।
बैठकमा बोल्दै कोइराला पक्षीय केन्द्रीय सदस्य सञ्जय गौतमले गठबन्धन गर्दा पार्टी हार्ने धारणा राखेपछि देउवा कड्किएका थिए । सोमबारदेखि जारी बैठकमा नेताहरुले धारणा राख्ने क्रम नसकिएपछि आजको बैठक बिहीबार पुनः बस्नेगरी स्थगित भएको छ ।
Leave a Reply