काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्ने भएको छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको हो । आइतबारदेखि जारी बैठकमा मंगलबार र बुधबार भने स्थगित भएको थियो ।
प्रज्ञा भवन कमलादीमा हुने बैठकमा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आइतबार र सोमबार केन्द्रीय सदस्यहरूले राखेका जिज्ञासा र धारणाहरूमाथि केन्द्रित रहेर जवाफ दिनेछन् ।
यस्तै, पूर्वस्थायी समितिले दिएको जिम्मेवारीअनुसार अध्यक्ष प्रचण्डले पदाधिकारी, पोलिटब्यूरोलगायत प्रस्ताव गर्ने तयारी छ । गत पुसमा आठौं महाधिवेशन सकेको माओवादीले अहिलेसम्म पदाधिकारी टुंग्याउन सकेको छैन ।
मंगलबार पदाधिकारी, पोलिटब्यूरो चयन लगायतको गृहकार्यका लागि बैठक स्थगित गरिएपनि बुधबारको बैठक अर्थमन्त्री प्रकरणमा संसदीय छानबिन समिति गठन, संसद बैठकलगायतले बिहीबारका लागि सारिएको थियो ।