काठमाडौं । काठमाडौँ महानगरपालिकाले आफूसँग भएका शौचालयलाई सार्वजनिक उपयोगमा ल्याउन इच्छा देखाएका ३३ वटा संघ संस्थासँग सम्झौता गरेको छ।
विभिन्न बैंक, रेष्टुरेन्ट, स्कुल, प्रकाशन गृह, विजनेस कम्प्लेक्ससहित ३२ वटा संघसंस्थाका प्रतिनिधिसँग सोमबार सम्झौता भएको हो।
महानगरका प्रमुख बालेन्द्र शाह (बालेन), उपप्रमुख सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालको रोहवरमा भएको सम्झौतामा महानगरकातर्फबाट निर्देशक नुरनिधि न्यौपानेले हस्ताक्षर गरेका छन्। यस्तै दोस्रो पक्षकातर्फबाट प्रतिनिधिहरूले हस्ताक्षर गरेका छन्। नविल बैंकसँग यस अघि नै सम्झौता भइसकेको छ ।
सम्झौता आउँदो ५ वर्षका लागि हुनेछ। यस अवधिमा संघसंस्थाले आफूसँग भएका शौचालयलाई सार्वजनिक प्रयोगका लागि उपलब्ध गराउनेछन्। यसरी उपलब्ध गराइएका शौचालयको मर्मत सम्भार गर्ने, सरसफाइ गर्न आवश्यक सामग्री तथा पानी, सुगन्धका सामान व्यवस्था गर्ने जिम्मा उनीहरूकै हुनेछ। यसबापत सेवाग्राहीलाई आफ्नो सेवा लिन करकाप वा प्रोत्साहन गर्ने छैनन्।
यसरी सञ्चालन भएका शौचालयको अवस्था अनुगमन तथा मुल्याङ्कन गर्न दुवै पक्षबाट १/१ जना प्रतिनिधि तोक्नेछ। उनीहरूले हरेक ४ महिनामा प्रतिवेदन दिनेछन्।
महानगर क्षेत्रभित्रका होटल, रेष्टुरेन्ट, बैंक, व्यापारिक भवन, कम्पनी, फर्म, गैर सरकारी संघ संस्थाका शौचालयलाई सार्वजनिक बनाउन इच्छुकलाई महानगरको सार्वजनिक निजी साझेदारी एकाईमा सम्पर्क राख्न सार्वजनिक आव्हान गरेको थियो।
प्रकाशित सूचनाका आधारमा ७ दिनमा ३८ वटा संघसंस्था सम्पर्कमा आएका थिए।
‘यो स्वतस्फूर्त कार्यक्रम हो। कसैलाई कर गरिएको छैन’, सम्झौतापछि संक्षिप्त प्रतिक्रिया दिँदै महानगरका प्रमुख शाहले भने, ‘व्यापार गर्नेले सेवा पनि गर्छु भनेर आउनुभयो। यसको म प्रशंशा गर्न चाहन्छु। यसमा कसैलाई दबाब छैन। अब दबाबले होइन, मिलेर काम गर्नुपर्छ।’
Leave a Reply