काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले स्थानीय तहको निर्वाचनमा गठबन्धन भन्दा एक्लै चुनाव लड्दा पार्टीलाई फाइदा भएको बताएका छन् ।
निर्वाचनका क्रममा गठबन्धनले आफ्नो पार्टीलाई ठीक ढंगले मूल्याङ्कन र सम्मान गर्न नसकेको बताउँदै उनले एक्लै निर्वाचन लडेका स्थानमा पार्टीले राम्रो विजयी हासिल गरेको दाबी गरे ।
काठमाडौं महानगर वडा नम्बर १५ मा समाजवादी उम्मेदवारलाई विजयी गराउन सहयोग गर्ने स्थानीयबासीलाई आभार व्यक्त गर्न शनिबार आयोजित कार्यक्रममा नेता खनालले गठबन्धनले ठीक ढंगले मूल्यांकन र सम्मान गर्न नसक्दा पार्टीलाई धेरै फाइदा नभएको समेत धारणा राखे ।
१५ वडामा पनि तालमेल गर्दा सबै पद गुमाउनुपर्ने भएकाले नै एक्लै चुनाव लड्ने निर्णय गरेको र सफलता प्राप्त भएको उनको भनाई थियो ।
खनालले विद्रोहबाट गठन गरेको पार्टी आठ महिनाभित्रै राष्ट्रव्यापी बन्न सफल भएको भन्दै आगामी दिनमा जनतालाई भरोसा दिलाएर संगठनलाई विस्तार र व्यापक बनाउँदै लैजानुपर्ने धारणा राखे ।
कार्यक्रममा उनले काठमाडौंको मेयरमा नयाँ मान्छे विजयी भएकाले सबैले सहयोग गर्नुपर्ने पनि बताए।
Leave a Reply