काठमाडौं । नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलले काँग्रेस र नेकपा एमालेले जनताले चाहेको विपरित उम्मेदवार खडा गरेर जनतालाई हेपेका कारण राजनीतिक दलका प्रतिनिधि काठमाडौं महानगरपालिकाको मेयरमा पराजित हुनुपरेको बताएका छन् ।
जनतालाई हेपेर निर्णय गर्दा काँग्रेसले महानगरको प्रमुख गुमाउन पुगेको उनको भनाई थियो । उनले काठमाडौं महानगरपालिकाको मेयरका लागि काँग्रेस र एमाले दुवै पार्टीले अघि सारेका उम्मेदवार उपयुक्त नभएको बताए ।
प्रमुखका उम्मेदवारहरूको कार्यक्षमताको समय सकिसकेकोले जनताले राजनीतिक दलहरुले गरेको निर्णयलाई लत्याएको उनको भनाई थियो ।
वरिष्ठ नेता पौडेलले आफूले कामनपा प्रमुखको उम्मेदवारका रुपमा महिलामा हरिप्रभा खड्गी र पुरुषमा तीर्थमान डंगोललाई अघि सारे पनि निर्णायकले नमान्दा राजनीतिक दल हार व्यहोर्न बाध्य भएको दावी गरे ।
नेपाली काँग्रेसको नेतृत्व पंक्तिले वंशवादको आधारमा उम्मेदवारी दिएको भन्दै उनले जनताले त्यसको सजाय नेताको टाउकोमा लौरो लगाइदिएको बताए ।
उनले उम्मेदवारी दिँदा नै वंशवाद हावी भएको बताए । उनले भने, उम्मेदवारी दिँदा नै वंशवादको आधारमा जो दिइयो त्यो गलत भयो । जनताले त्यसको सजाय लौरो लगाइदिए नेताको टाउकोमा । मैले त्यतिबेला पनि भनेको हो, मेरो केही लागेन । म निर्णायक ठाउँमा होइन । पार्टी सभापति नै निर्णायक हुन्छ ।
उनले भने–‘राजनीतिक दलहरुले जनतालाई हेपेर निर्णय गर्नुहुँदैन । काँग्रेसका नेताले पनि जनतालाई हेपेर निर्णय गरे, एमालेका नेताले पनि । एमालेका नेताले जुन निर्णय गरे त्यो पनि जनतालाई हेपेकै निर्णय थियो । किनभने जुन उम्मेदवारलाई अघि सार्नुभयो उहाँहरु उपयुक्त थिएनन् । आउटेडेट भइसकेका थिए । अहिले काँग्रेसले जे गरेको थियो त्यो पनि उपयुक्त थिएन । ती भन्दा उपयुक्त धेरै मान्छेहरु थिए । मैले त्यही बेला भनेको थिएँ, महिला दिने हो भने हरिप्रभा छँदैछिन्, उपमेयरमा राम्रो काम गरेकी थिइन् । पुरुष दिने हो भने तीर्थ डंगोल छँदैछन् भनेको थिएँ । त्यस्ता राम्रा मानिसहरु थिए ।’
Leave a Reply