Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सुन्दर हरिजन मृत्यु प्रकरण : गृहले गर्यो छानबिन समिति गठन

काठमाडौँ । अपराधीको सट्टा जेलमा राखिएका दलित किशोरको रोल्पा कारागारमा भएको मृत्यु प्रकरणको छानबिन गर्न गृहमन्त्री बालकृष्ण खाँणले समिति गठन गरेका छन् ।

गृहमन्त्री खाँणले रोल्पा कारागार कार्यालयमा जेठ ४ मा कैदीका रूपमा सुन्दर हरिजनले झुण्डिएर आत्महत्या गरेको भनिएको घटना सम्बन्धमा स्थलगतरूपमा सत्य तथ्य छानबिन गरी प्रतिवेदन पेस गर्न मन्त्रालयका सहसचिव सूर्यप्रसाद सेढाईंको नेतृत्वमा छानबिन समिति गठन गरेका हुन् ।

सहसचिव सेढाईंको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरिएको हो ।

समितिलाई काम सुरु गरेको मितिले ७ दिनभित्र प्रतिवेदन पेस गर्न मन्त्रिस्तरीय निर्णयबाट कार्यादेश दिइएको मन्त्रालयका सूचना अधिकारी वसन्त भट्टराईले जानकारी दिए ।

समितिमा मन्त्रालयका उपसचिव झंकनाथ ढकाल, नेपाल प्रहरीका उपरीक्षक भूपेन्द्र खत्री, राष्ट्रिय अनुसन्धान विभागका उपअनुसन्धान निर्देशक विश्वमणि आचार्य र जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकीय अधिकृत सदस्य रहेका छन् ।

यसअघि हरिजनको आत्महत्या सम्बन्धमा छानबिन गर्न बनाइएको कारागार विभागका निर्देशक झरेन्द्रप्रसाद चापागाईं नेतृत्वको समितिले सोमबार प्रतिवेदन बुझाएका थिए । प्रतिवेदनमा रोल्पा कारागारका अधिकारीको कुनै संलग्नता नरहेको भनिएको थियो ।

हातहतियार मुद्दामा ५ वर्ष जेल सजाय पाएका विजयविक्रम शाहको नाममा चोरीको आरोपमा १ वर्षका लागि जेल सजाय गरिएका हरिजनलाई रोल्पा कारागारमा राखिएको थियो । जेलबाट छुट्नु केही दिन पहिले हरिजनले रोल्पा कारागारमा आत्महत्या गरेको समाचार सार्वजनिक भएको थियो । उक्त मृत्यु प्रकरणको संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077