काठमाडौं । काठमाडौं महानगरपालिकाको नवनिर्वाचित मेयर बालेन शाहलाई प्रतिस्पर्धी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले बधाई दिएकी छिन्।
काठमाडौंको मेयरमा निर्वाचित भएपछि साहलाई बधाई दिँदै उनले लोकतान्त्रिक अभ्यासको यो परिणामलाई हार्दिकतापूर्वक स्वीकार गरेको उल्लेख गरेकी छिन्।
'लोकतान्त्रिक अभ्यासको यो परिणामलाई म हार्दिकतापूर्वक स्वीकार र आत्मसाथ गर्दछु,' उनले लेखेकी छन्, 'काठमाडौं महानगर प्रमुखमा निर्वाचित श्री बालेन्द्र साहलाई हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्दछु ।'
बिहीबार राति अन्तिम मतपरिणाम घोषणा भएपछि ट्विट गर्दै सिंहले प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्यमा निर्वाचित सबैलाई बधाई दिँदै रचनात्मक सहयोग र साथ रहने प्रतिबद्धता व्यक्त गरेकी छन् ।
उनलाई गठबन्धनको तर्फबाट नेपाली कांग्रेसले काठमाडौं महानगरपालिका प्रमुखको उमेदवार बनाएको थियो । उनले विजयी हुने गरी मत जित्न नसके पनि मन जित्न सकेको बताइन् ।