काठमाडौं । सत्तागठबन्धनले प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितीमा आज चितवनको भरतपुरमा चुनावी सभा गर्ने भएको छ ।
नेपाली कांग्रेसका सभापति समेत रहेका देउवा चुनावी सभालाई सम्बोधन गर्न बुधबार नै चितवन पुगेका हुन् । उनी चितवन पुगेपछि विमानस्थलबाट होटलसम्म जान निजी सवारी साधन चढेका थिए।
चुनावी प्रचारका कार्यक्रममा गएकोले निजी गाडी प्रयोग गरिएको देउवाको सचिवालयले जनाएको छ । चुनावी सभामा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसापाका अध्यक्ष उपेन्द्र यादव, कांग्रेस नेता रामचन्द्र पौडेललगायतले सम्बोधन गर्ने कार्यक्रम छ।
यस्तै कांग्रेस महामन्त्री गगन थापा र नेता शेखर कोइरालालाई पनि चुनावी सभामा सम्बोधन गर्न खबर गरिएको छ। भरतपुर महानगरमा सत्तागठबन्धनबाट मेयरमा नेकपा माओवादीकी नेता रेनु दाहाल र उपमेयरमा कांग्रेस नेता चित्रसेन अधिकारी उम्मेदवार छन् ।