Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भन्सारका नासुसँग ४ करोडको सम्पत्ति, एक करोड ८७ लाख भ्रष्टाचार गरेको आरोपमा अख्तियारले गर्यो मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भन्सार जाँचपास परिक्षण कार्यालय, तिनकुने काठमाडौंका नायक सुब्बा देवीबहादुर थापामाथि झण्डै दुई करोड भ्रष्टाचार गरेको भन्दै विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ ।

हाल निलम्बनमा परेका नासु थापाले गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा उनले १ करोड ८७ लाख ४७ हजार १४९ रुपैयाँ भ्रष्टाचर गरेको पुष्टि भएको आयोगले जनाएको छ ।

२०५६ साल साउन ५ गते विचारी पदमा सेवा प्रवेशदेखि आर्थिक वर्ष २०७५।०७६ सम्मको जाँच अवधिमा थापा र उनको परिवारले १ करोड ८७ लाख ४७ हजार १४९ रुपैयाँ भ्रष्टाचर गरेको पुष्टि भएको आयोगले जनाएको छ ।

थापाको परिवारले ३ करोड ८९ लाख ४५ हजार ५८८ रुपैयाँ खर्च गरेको देखिएको र उक्त रकममध्ये थापाको परिवारको वैध आय २ करोड १ लाख ९८ हजार ४३९ रुपैयाँमात्र देखिन आएको हुँदा १ करोड ८७ लाख ४७ हजार १४९ रुपैयाँ बराबरको सम्पत्ति गैरकानुनी रुपमा आर्जन गरेको पनि आयोगले जनाएको छ ।

थापा र उनको परिवारले अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको, आफ्नो हैसियतभन्दा बढी रकमले आफु, बाबु, आमा र श्रीमतीको नाममा घरजग्गा खरिद गर्नुका साथै कम्पनी तथा फर्महरु दर्ता गरी परिवारले अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको, परिवारका सदस्यको नाममा विभिन्न बैंक तथा वित्तीय संस्थाहरु तथा कम्पनीहरुका संस्थापक एवं साधारण शेयरहरु खरिद लगानी लगायतका चलअचल सम्पत्तिहरु खरिद, विभिन्न उद्योग तथा फर्महरुमा लगानी, विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा रकम जम्मा एवं घर निर्माण गरेको पनि आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

आयोगले थापालाई १ करोड ८७ लाख ४७ हजार १४९ रुपैयाँ विगो कायम गरी साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ तथा दफा २९ को उपदफा (२) को प्रतिबन्धात्मक बाक्यांश एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिम बिगो बमोजिमको जरिवाना र कैद सजाय हुन मागदाबी लिइएको जनाएको छ ।

साथै, आयोगले देवीबहादुर थापाले गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरी निजको बाबु कृष्णबहादुर थापा, आमा चन्द्र माया र श्रीमती विमसा राउतको नाममा राखेको स्रोत नखुलेको सम्पत्ति जफत गर्ने प्रयोजनको लागि साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६ ग, दफा २९ को उपदफा (१) र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ (ख) बमोजिम निजहरुलाई समेत प्रतिवादी कायम गरी निजहरुको नाममा रहेको सम्पत्ति जफत हुने मागदावी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र दफा ३५ एवं भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम मागदावी लिई आरोप पत्र दायर गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077