काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले माओवादी आन्दोलनबाट विभाजित सबै नेता, कार्यकर्ताहरुलाई एकतामा आउन आह्वान गरेका छन् ।
शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा नेपाल कम्युनिष्ट पार्टीको ७३ औँ स्थापना दिवस तथा १५२ औँ लेनिन जयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले माओवादी आन्दोलनबाट विभाजित सबै नेता, कार्यकर्ता तथा पार्टीहरुलाई एकताबद्ध हुन आह्वान गरेका हुन् ।
यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गठबन्धनले सबै स्थानीय तह र वडामा तालमेललाई प्रभावकारी बनाउने निर्णय गरेको उल्लेख गर्दै अध्यक्ष दाहालले भने, “आगामी निर्वाचनमा वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई विजयी गराई संविधान र लोकतन्त्रको रक्षासहित समाजवादको आधार तयार पार्न गठबन्धनमा आवद्ध दलका नेता–कार्यकर्ता र जनसमुदायमा विशेष अपिल गर्दछु ।”
उनले जनयुद्ध र जनआन्दोलनले स्थापित गरेका मुद्दाहरु उल्ट्याउने षड्यन्त्र भएको भन्दै जनताको अधिकार र पहिचानका पक्षधरहरु एकताबद्ध हुनु आवश्यक रहेको बताए । ‘हिजो नेपालको जनवादी क्रान्तिलाई मौलिक ढंगले पूरा गर्न मुख्य योगदान गरेको माओवादी आन्दोलन र क्रान्तिकारी कम्युनिष्ट आन्दोलनका सबै विभिन्न धाराहरुलाई आजको दिनले सबभन्दा पहिला एकताबद्ध हुन प्रेरित गरोस्, उनले भने, म सबै माओवादी आन्दोलनका उपज सबै धाराका नेता, कार्यकर्ताहरुलाई विशेष रुपले अपिल गर्न चाहन्छु ।’
अहिले पनि देशमा जनयुद्ध र जनआन्दोलनले स्थापित गरेका मान्यताहरु, मुद्दाहरु उल्ट्याउने षड्यन्त्र भइ नै रहेको उनको भनाइ थियो । ‘संघीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर पार्ने र जनताको घरदैलोमा पुगेको अधिकार खोस्ने षड्यन्त्र भइराखेकै छ । अहिलेपनि यो देशका महिला, दलित, आदिबासी, जनजाति, मधेसी, थारु, मुस्लिम लगायत उत्पीडित जनताले पाएका अधिकार र पहिचानहरु खोस्ने षड्यन्त्र रोकिएको छैन,’त्यसकारण म सबै परिवर्तनमा सहभागी माओवादी र सबै कम्युनिष्ट आन्दोलनका क्रान्तिकारी नेता, कार्यकर्ताहरुलाई विशेष रुपले अपिल गर्न चाहन्छु ।’
Leave a Reply