Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

गिरिजालाई राष्ट्रपति नबनाउँदा र रुक्मांगतलाई हटाउँदा ठूलो गल्ती गरें : प्रचण्ड

कैलाली । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफूले गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति नबनाएर र रुक्मांगत कटवाललाई प्रधानसेनापतिबाट हटाएर ठूलो गल्ती गरेको दोहोर्याएका छन् ।

आज कैलालीमा आयोजित पार्टीको सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले साथीहरुको लहलहैमा लागेर आफूले गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति हुनबाट रोकेको बताए । उनले भने–‘उहाँ (गिरीजाप्रसाद कोइराला) लाई नरोकेको भए शान्ति प्रक्रिया अझ राम्ररी टुंगिने थियो ।’

तीन महिनापछि अवकाश पाउन लागेका रुक्मांगत कटवाललाई पनि आफ्नै साथीहरुको उक्साहटमा परेर हटाउने निर्णयमा पुगेको उनले बताए । उनले भने–‘साथीहरुको लहलहमा लागे । त्यसबेला माओवादीले जित पचाउन नसकेर पखाला लाग्यो । बाबुराम र बादलले वरिवरिबाट ठोकठोक भन्ने । मैले पनि ठोकिहालेँ । उल्टै मेरै पद गयो । यो पनि गल्ती थियो ।’

एमसीसीका बेला पनि आफूलाई केही नेताहरुले उक्साएको उनले बताए । ‘केहीले ठोकठोक भन्न थालिसकेका थिए । तर, म पहिलाजस्तो गल्ती एमसीसीका बेला दोहोर्‍याउन चाहन्न थिएँ । उक्साहटमा लागेको भए सबथोक जाने थियो । गिरिजा र रुक्मांगतका बेलाको सम्झे । अनि मैले देशलाई दुर्घटनामा जान दिन्न भनेर कठोर भएँ ।’

अहिले अमेरिकाले पनि व्याख्यात्मक टिप्पणी स्वकीकार गरिसक्यो बताउँदै उनले अहिले देश शान्त अवस्थामा रहेको पनि बताए ।

कार्यक्रममा अध्यक्ष दाहालले आफ्नो भाग त्याग गरेर भए पनि गठबन्धन बचाउनुपर्ने अवस्था आएको बताए । उनले आवश्यक परेको ठाउँमा तालमेलका लागि लचक हुन कार्यकर्तालाई निर्देशन दिए ।

सत्तारुढ गठबन्धनबीच चुनावी तालमेल हुन नदिने अनेक षड्यन्त्र भएको बताउँदै उनले भने–‘जरुरी पर्छ भने अलिकति लचक भएर पनि, आफ्नो भाग त्याग गरेर भए पनि गठबन्धन बचाउनुपर्छ । हिजो बेलुकासम्म पनि गठबन्धन टुटाउन अनेक षड्यन्त्र भए । महानगर, उपमहानगरसम्म गठबन्धन नहोस् र फेरि प्रतिगमन गर्न पाइयोस् भन्ने षड्यन्त्र गरे । त्यो असफल भएपछि प्रतिक्रियावादीहरु विक्षिप्त भएका छन् ।’

तालमेलका लागि आफूले धेरै मेहनत गरेको भन्दै उनले भने–‘अस्ति राति तीन बजेसम्म बसियो । हिजो पनि दिनभरि बसेर महानगर र उपमहानगरमा सर्वसम्मति गरियो । धेरै ठूलो मेहनत र छलफलपछि महानगर र उपमहानगरमा तालमेल गरिएको छ ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077