काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) ले निर्वाचन बहिष्कार गरेसँगै पार्टीमा असन्तुष्टि बढेको छ । सोही असन्तुष्ट पक्षले पार्टीबाट विद्रोह गर्दै केही संयुक्त समाजवादी मोर्चाको घोषणा गरेका छन् ।
नेकपा (क्रान्तिकारी माओवादी) ले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन बहिष्कार गर्ने निर्णयमा असन्तुष्टि जनाउँदै पार्टीका युवा तथा विद्यार्थी नेताहरुले सो पार्टी परित्याग गरेका हुन् ।
सोमबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) का पूर्वकेन्द्रीय अध्यक्ष तथा देशभक्त जनगणतान्त्रिक मोर्चाका केन्द्रीय सदस्य सेवन्तराज भण्डारीको नेतृत्वमा संयुक्त समाजवादी मोर्चाको घोषणा गरिएको हो।
पार्टीले निर्वाचनलाई वहिष्कार, उपयोग र फेरि वहिष्कारको नीति लिएर यथास्थिति गोलचक्करमा फसेकाले पार्टी परित्याग गर्नुपरेको संयुक्त समाजवादी मोर्चाका अध्यक्ष भण्डारीले बताए । मोर्चाले १५ दिन भित्रमा राष्ट्रिय सम्मेलनको आयोजना गर्ने बताएको छ ।
Leave a Reply